
लमजुङ-गण्डकी प्रदेश सरकारको सहयोगमा प्रदेश अस्पताल लमजुङको परिसरमा आधुनिक एवं सुविधासम्पन्न नयाँ भवन बन्ने भएको छ ।
प्रदेश सरकारबाट प्राप्त हुने ६९ करोड ९७ लाख ६४ हजार २ सय ५८ रुपैँया लगानीमा नयाँ भवन बन्न लागेको हो ।
सेवा प्रवाहका हिसावले उत्कृष्ट रहेको यस अस्पतालको नयाँ भवन निर्माण भएपछि विशेषगरी लमजुङसँगै मनाङ, तनहुँ र गोरखाका नागरिकलाई समेत स्वास्थ्य सेवा लिन सहज हुने गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री एवं प्रवक्ता एवं लमजुङ कांग्रेस सभापति डा.टकराज गुरुङले बताउनुभयो ।
मन्त्री गुरुङका अनुसार गण्डकी प्रदेश सरकारको प्राथमिकतामा रहेको प्रदेश अस्पताल लमजुङको भवन निर्माणको काम सुनिश्चित भएको छ ।
‘यस अस्पताललाई प्रदेशकै नमूना अस्पताल बनाउने उद्देश्यले मेहेनतका साथ बजेट सुनिश्चित गरी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत पारित गरेका छौँ,’ उहाँले भन्नुभयो ।

अब गुणस्तरमा सम्झौता नगरी तोकिएको समयभित्रै नयाँ भवन निर्माण गर्नेतर्फ सबैको ध्यान जान आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।
उनले भवन निर्माणका लागि स्वास्थ्य मन्त्रालयबाट आवश्यक प्रक्रिया अगाडि बढिसकेको समेत जानकारी दिनुभयो ।
अस्पतालको नयाँ भवन वातावरण एवम् प्रविधि मैत्री, भूकम्प प्रतिरोधी ढाँचामा अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिने मन्त्रालयले जनाएको छ ।
बिरामी र सेवाग्राहीलाई सहज हुनेगरी अस्पतालको नयाँ भवनमा प्रतीक्षालय, अपाङ्गमैत्री संरचना, लिफ्ट, पार्किङ तथा हरित क्षेत्रको समेत व्यवस्था गरिनेछ ।
यस्तै अत्याधुनिक एवं आकस्मिक, आइसियु र एनआइसियु कक्ष, प्रसूति तथा स्त्री रोग विभाग, सर्जरी ब्लक, आधुनिक प्रयोगशाला, डिजिटल एक्स–रे, सिटी स्क्यान, एमआरआई, मुटु तथा न्यूरो सेवा सञ्चालन हुनेछन् ।
भवन निर्माणसँगै थप सेवासमेत विस्तार गरिने योजना रहेको अस्पताल विकास समितिका अध्यक्ष विजय गुरुङले बताउनुभयोे ।
‘भवन निर्माणसंगै सरल, सहज रुपमा स्वास्थ्य सेवा पवाहमा सहज हुनेछ,’ उहाँले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस