२०८२ चैत्र १९, बिहिबार | Thu, 02, Apr, 2026

गोरखाको चुम भ्यालीमा हिमपात : अन्नबाली सप्रने भन्दै किसान हर्षित

  • २०८२ माघ १४, बुधबार मा प्रकाशित २ महिना अघि
  • सुवास मजाकोटी/समुन्नती अनलाइन

    गोरखा–गोरखाको मनास्लु हिमश्रृंखलाअन्तर्गत पर्ने दुर्गम चुम भ्यालीमा निकै लामो समयपछि हिमपात भएको छ ।

    लामो समयदेखि खडेरी र सुक्खामौसमले प्रभावित बनेको यस क्षेत्रमा परेको हिमपातलाई स्थानीय बासिन्दाले खेतीपाती, पानीका स्रोत र पर्यटन पबद्र्धनका लागि फाइदा पुर्याउने स्थानीय बताउँछन् ।

    हिमपातसँगै चुम भ्यालीका डाँडाकाँडा, बस्ती र आसपासका हिमालहरू सेताम्य बनेका छन् । यसले भ्यालीको प्राकृतिक सौन्दर्य झनै बढाएको छ । स्थानीय किसानहरूका अनुसार लामो समयदेखि पर्याप्त वर्षा नहुँदा मकै, आलु, फापरलगायत बाली उत्पादनमा असर परेको थियो ।

    आज परेको हिमपातले माटोमा चिस्यान कायम राख्ने, पानीका मुहानहरू पुन : भरिने र खेतीपातीका लागि अनुकूल वातावरण बनाउने उनीहरुकोे भनाइ छ ।

    त्यसैगरी, हिमपातपछि चुम भ्यालीको सौन्दर्य अझ मनमोहक बनेकाले पर्यटन गतिविधि बढ्ने छ । सेताम्य पहाड, हिमाल र बस्तीले आन्तरिक तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने स्थानीय पर्यटन व्यवसायीहरू बताउँछन् ।

    हिमपातसंगै अत्यधिक चिसो बढेकाले दैनिक जनजीवनमा केही कठिनाइ भएको छ । चिसो बढेसँगै बृद्धबृद्धा, बालबालिका र पशुचौपायामा असर पर्न सक्ने भएकाले स्थानीयले आवश्यक सावधानी अपनाइरहेका छन् ।

    लामो समयपछि परेको यो हिमपातलाई चुम भ्यालीका बासिन्दाले खेती र पर्यटनका लागि सुनौलो अवसरका रूपमा लिएका छन्।

    प्रतिक्रिया दिनुहोस